काठमाडौं। नेपाल पर्यटन बोर्डले दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपाल (कोट्टान) सँगको सहकार्यमा दक्षिण कोरियाको ग्वान्जु र सियोलमा बीटुबी बैठकसहित नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।
जुन २५ र २७ जुन २०२४ मा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कोरियन टुर अपरेटर तथा सञ्चारमाध्यमहरुको सहभागिता रहको थियो ।
यस कार्यक्रम अघि नेपाल सेल्स मिसन मे २०२३ मा सियोल र बुसानमा आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कोरियाका लागि नेपालका राजदूत डा.ज्योति प्याकुरेल(भण्डारी)ले यो कार्यक्रम नयाँ विचारको आदानप्रदान, नयाँ बजार क्षेत्र र विभिन्न पर्यटकीय उत्पादन तथा सेवाहरू प्रर्दशन गर्नका लागि उपयुक्त मञ्च भएको बताउनुभयो ।
उहाँले नेपालमा लगानीका प्रशस्त अवसरहरूबारे पनि धारणा राख्दै नेपाल वायुसेवा निगममार्फत कनेक्टिभिटीका लागि लबिङ गर्ने र उडान फ्रिक्वेन्सी बढाउन आफुले पह गर्ने बताउनु भयो ।
सियोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूबीचको बीटिुबीले दुई देशबीचको पर्यटन व्यवसाय प्रवर्द्धन हुने बताउनु भयो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले ‘गन्तव्य नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ सम्बन्धी दुईवटा संक्षिप्त प्रस्तुतिकरण दिँदै नेपाल कोरियाली पर्यटकहरुका लागि राम्रो गन्तव्य भएको धारणा राख्नु भयो ।
यस्तै उहाँले सम्भावित कोरियाली लगानीकर्ताहरूको लागि नेपालमा लगानीका अवसरहरू रहको जानकारी दिँदै यस्ता कार्यक्रमले दुई देशको पर्यटन प्रवर्द्धनको सम्भावनालाई बढाउने बताउनु भयो ।
कार्यक्रममा कोरियाली अल्पाइन क्लबका अध्यक्ष ब्यून गीताय, कोरिया अल्पाइन महासंघका स्थायी उपाध्यक्ष ली इउइजाले कोरियाली पर्यटकको नेपालप्रतिको लगाव साझा गर्दै यो अवसरलाई सदुपयोग गरी नेपाललाई सहयोग गर्न कोरियाली टुर अपरेटरहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा कोट्टानका अध्यक्ष अमरबहादुर शाही, वरिष्ठ नेपाली पर्यटन व्यवसायी केपी सिटौलाले दुवै सहरमा आयोजना भएका कार्यक्रमको संयोजन र सहजीकरण गर्नभएको थियो ।
कोट्टानमा १३ वटा पर्यटन कम्पनी/सदस्य सहभागि थिए । जसमा फोटिन पीक ट्रेकिङ एण्ड एक्सपेडिसन, राइका टुर्स एण्ड ट्राभल्स, ड्रिमलाइन ट्रेकिङ एण्ड एण्ड टुर्स, ट्रेकिङ क्याम्प नेपाल प्रा. लिमिटेड, आईबीजेड ट्राभल्स एण्ड टुर्स, होटल ठमेल पार्क एण्ड स्पा कोरियन रेस्टुरेन्ट, जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसन, लिंक एसिया टुर्स एण्ड ट्राभल, गुड ट्राभल्स एण्ड टुर्स, हानेउल टुर्स एण्ड ट्राभल्स, जे भिल नेपाल ट्राभल्स एण्ड टुर्स माउन्टेन जोन टुर र ट्रेक्स प्रा. लिमिटेड र सोरा साहसिक ट्रेक सहभागी रहेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत सिर्जना नेपालीले जानकारी दिनुभयो ।
सन् २०२४ को मेसम्म कोरियाली पर्यटक आगमन १२ हजार ४०५ पुगेको छ जसबाट सन् २०१९ को प्रि-कोविड स्तरको तुलनामा करिब ८० प्रतिशत रिकभरी भएको देखिन्छ ।