काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच, प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।
यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए ।
तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।