काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेट सहि बाटोमा उन्मुख नभएकाले परिणाम दिन नसक्ने बताउनुभएको छ । यस्तै बजेट जनताको हितमा नभएको पनि उहाँको भनाइ छ ।
पुर्वअर्थमन्त्री समेत रहनुभएका महतले सरकारले ल्याएको बजेटले नेपालको अर्थतन्त्रलाई सहिबाटोमा लान नसक्ने स्पष्ट पार्दै विनियोजनमा व्यापक बेथिती भएको आरोप लगाउनुभयो ।
यस्तै गलत किसिमबाट विनियोजन भएको बजेटमा असख्य त्रुटीहरु भएको पनि प्रवक्ता महतको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता महतले कनिका छरेजस्तै गरी बाँडेकाले बजेटको पक्षमा आफूहरुले समर्थन दिन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टी कांग्रेसले सुरुदेखिनै बजेटले ठिक बाटो समाएको छैन, अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न सक्दैँन भनेर प्रतिक्रिया दिइरहेको पनि उहाँले बताउनुभयो ।
ठुलो ब्याँज तिरेर आन्तरिक ऋण लिएर वितरणमुखी र परिणाम शून्य हुने आयोजनाहरुमा लगानी गर्नुको कुनै औचित्य नभएको प्रवक्ता महतको भनाइ छ ।
आफूहरु सरकारमा हुदा अर्थतन्त्रले लय पक्रिरहेको र विदेशी लगानी पनि राम्रो रहेको बताउँदै उहाँले अहिलेको सरकार आएपछि अन्तराष्ट्रिय समुदायको विश्वास र लगानी सम्मेलन अत्यन्तै घटेको दाबी गर्नुभएको छ ।