काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनुमा क्यानको कुनै दोष नरहेको स्पष्टीकरण दिएको छ।
अध्यक्ष चतुरबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै क्यान पदाधिकारीको कमजोरीका कारण क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्ने कुरा गलत रहेको स्पष्ट पारेका हुन्।
उनले सन्दीपले अदालतबाट सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई नेपाली स्क्वाडमा समावेश गराएको बताएका छन्। सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र समेत उनले सार्वजनिक गरेका छन्।
चन्दले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्। यतिबेला १५ सदस्यीय स्क्वाडमासमेत लामिछानेलाई समावेश नगरेकाकारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ।
अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि लामिछानेका प्रशंसक भने आक्रोशित भएका छन्। अध्यक्ष चन्दले झुठो र अनुमानका आधारमा तथ्यहीन कुराबाट क्रिकेटप्रेमी भ्रममा नपर्न आग्रह गरेका छन्।