काठमाडौं । अर्थविद् चिरञ्जीवी नेपालले अहिलेको स्थितिमा बजेट संयमित भएर ल्याउन खोजेको देखिएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्र बैंकका पूर्व गर्भनर समेत रहनुभएका नेपालले बजेट धेरै महत्वाकाङक्षी नभएको र राजश्व पनि उठ्ने स्थितीमा राखेको हुँदा राम्रो पक्ष देखिएको स्पष्ट पार्नुभयो ।
यस्तै अर्थविद् नेपालले विगतमा पनि बजेट राम्रो आएको तर त्यसको कार्यान्वयन पक्ष कमजोर हुनाले देशको आर्थिक विकाशमा बजेटले पूर्णरुपमा सहयोग गर्न नसकिरहेको स्पष्ट पार्नुभयो ।
खर्च गर्ने क्षमता जहिलेसम्म सु्धार हुँदैन तबसम्म जति राम्रो बजेट ल्याए पनि, कार्यक्रम घोषणा गरे पनि यसबाट उपलब्धि केहि नहुने नेपालको दाबी रहेको छ ।
यस्तै कृषिमा उत्पादन वृद्धि भयो भने आर्थिक वृद्धि पनि हुने र उत्पादन कम भए आर्थि वृद्धि नहुने उहाँको तर्क रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले हिजो संसदको संयुक्त बैठकमार्फत १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो।
विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन गरिएको छ।
यस्तै खर्च बेहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बेहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ।
यस्तै उहाँले जुन चिज सम्भव छैन ती कुराहरु बजेटमा राखेर कर्णप्रिय बनाउन खोज्नु् गलत भएको बताउँदै यी कुराहरुमा ध्यान दिनुपर्ने र कार्यान्वयव गर्न सक्ने कुरालाई प्राथमिकता दिनुपर्ने तर्क गर्नुभयो ।