काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार जनताका समस्यामा बेखबर बनेको आरोप लगाउनुभएको छ । सहकारीका लाखौंलाख बचतकर्ताको मागमा सरकार गम्भीर नभएर संसद् अवरोध गर्ने ठाउँमा पुगेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लेखकले ज–जसले सहकारीमा पैसा बचत गरेका छन् उनीहरूको पैसा फिर्ता गर्ने सुनिश्चित गर्नुका साथै आगामी समयमा सहकारीको बचत अपचलन नहुने सुनिश्चित गर्नु पर्ने र जुन–जुन सहकारीका रकम अपचलन भएको छ त्यसमा संलग्नलाई कारबाही गर्नु पर्ने कुराको सुनिश्चित हुनुपर्ने कांग्रेसको माग रहेको बताउनुभयो । उहाँले त्यसमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएकोले उहाँमाथि पनि छानबिन हुनुपर्ने दाबी गर्नुभयो ।
उहाँले सरकार ठगहरू जोगाउन र आफ्नो कुर्सी जोगाउन मात्र लागेको आरोप लगाउनुभयो । सरकार पेलेरै गइरहेको अहिलेको अवस्थामा उहाँले विगतमा संसद्मा माइक तोडेको, कुर्सी भाँचेको र बजेट ब्रिफकेस तोडेको घटनाको उदाहरण दिँदै कांग्रेस त्यस्तो अराजक नबन्ने तर कांग्रेसलाई रचनात्मक प्रतिपक्षको रुपमा बुझिदिन आग्रह गर्नुभएको छ ।
कांग्रेसले संसद्बाट उठाएका माग पुरा भएन भने सडकमा जाने चेतावनी दिँदै नेता लेखकले हिजोको सडक प्रदर्शन वार्मअप मात्र भएको दाबी गर्नुभयो । उहाँले अहिले कांग्रेसले उठाएको मुद्दा कांग्रेसको मात्रै हो भनेर नबुझ्न आग्रह गर्दै यो नेपाली जनताको मुद्दा भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीका ठगहरूलाई जोगाउन राज्यका संयन्त्र दुरुपयोग भइरहेको दाबीसमेत गर्नुभयो ।
नेता लेखकले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै सक्रिय भएर छलफलमा लागिरहेकाले भोलि बजेट भाषण हुनुअघि नै संसदीय छानबिन समितिको टिओभारमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।