काठमाडौं । देशभर गर्मी बढेसँगै विभिन्न संक्रामक रोगको जोखिम पनि बढेको छ । यो समयमा झाडापखाला जण्डिस टाइफाइड लगायत विभिन्न संक्रामक रोगको जोखिम हुन्छ भने पछिल्लो समय देखिएको कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट पनि पुष्टि भएकाले यसको जोखिम पनि बढेको छ । मौसम परिवर्तनपछि पानी पर्न थालेपछि डेङ्गीको प्रकोप पनि बढ्न थालेको छ । गर्मी र बर्षातको बेला विभिन्न भाइरस र ब्याक्टेरिया बढी सक्रिय हुने भएकोले संक्रामक रोगको जोखिम बढी हुने गर्दछ । मौसम परिवर्तनसँगै बर्षेनी दोहोरिइरहने हुनाले यस्ता संक्रमणलाई चिकित्सकहरूले मौसमी रोग पनि भन्ने गर्छन् । मानिसको जीवनशैली र आहार विहारका कारण यस्ता स्वास्थ्य समस्या बल्झिने हुनाले सतर्क रहन चिकित्सकको सुझाव छ ।
पछिल्लो समय प्रकोपका रूपमा देखिँदै आएको डेङ्गी सङ्क्रमण र संक्रामक रोगको रोकथाममा भने सरकार गम्भीर भएको पाइँदैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले समयमै लामखुट्टे नियन्त्रणको उपाय अवलम्बन नगर्ने हो भने डेङ्गीको प्रकोप बढ्ने बताउनुभएको छ । अहिले लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन टाइम रहेको पुनको भनाई छ ।
डेङ्गीको प्रकोप सँगै पानीजन्य रोगहरू, झाडापखाला, हैजाजस्ता सरुवा रोग पनि देखिन थालेका छन् । डाक्टर दिनेश उप्रेतीका अनुसार डेङ्गी सार्ने लामखुट्टे पानी पर्न बन्द भएपछि विभिन्न किसिमका खाल्डा वा भाडामा, टायरमा पानी जम्मा भएको ठाउँमा बस्ने गर्दछ र लामखुट्टेले अण्डाहरू विकास गर्ने र मानिसमा सार्ने गर्दछ । लामखुट्टेबाट बच्न आफै विभिन्न कुरामा सावधान रहनुपर्ने डाक्टर उप्रेतीको सुझाव छ ।
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पनि पुष्टि भएको छ । यसको संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने डाक्टर शेर बहादुर पुनको भनाई छ । ओमिक्रोनको सब भेरियन्ट डेढ महिनादेखि नै देखिएको हुनसक्ने उहाँको अनुमान छ ।
नेपालमा संक्रामक रोगको रोकथामका सन्दर्भमा सरकारको ध्यान नपुगेको उहाँको भनाई छ । संसारको कुनै पनि ठाउँमा फैलिएको संक्रामक रोग सजिलै नेपाल प्रवेश गर्ने अवस्थामा रहेपनि एउटा पनि सुविधा सम्पन्न अस्पताल नबनेको डाक्टर पुनको दाबी छ । संक्रामक रोग भयावह भएको अवस्थामा आशा र भरोसाको केन्द्र बनिरहेको टेकु अस्पतालको स्तरोन्नति गर्नेबारे नीति निर्माताको दृष्टि नपरेको पनि उहाँ बताउनुहुन्छ ।
नेपालमा संक्रामक रोकको रोकथाममा सोचेजस्तो प्रगति छैन । एउटा सुविधा सम्पन्न अस्पताल समेत बन्न सकेको छैन । संसारको कुनै ठाउँमा संक्रामक रोग फैलियो भने नेपाल अछुतो रहने अवस्था छैन । संक्रामक रोगको रोकथाममा कुनै पनि पालाका सरकार गम्भीर भएको पाइँदैन । यसपटक पनि संक्रामक रोगलाई बेवास्ता गरे यसले ठुलो क्षति पुर्याउने तर्फ सरकार सचेत हुन जरुरी छ । प्रदूषित वातावरण, दूषित पानी र गर्मी मौसमका कारण संक्रमण बढ्नु स्वाभाविक भएपनि हेलचकक्राइ भएको खण्डमा जटिल स्वास्थ्य समस्या समेत निम्तिने हुनाले सतर्क रहन आवश्यक छ ।