काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख शामन्तकुमार गोयलबीच बालुवाटारमा भएको भेट नेपाल भारत सीमा विवाद समाधानमा केन्द्रीत रहेको दाबी गर्नुभएको छ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता नेम्वाङले यो भेट नेपाल र भारतका प्रधानमन्त्रीहरुबीचको समन्वयको एक नयाँ श्रृङखला भएको समेत दाबी गर्नुभयो।
जासुसी संस्थाका प्रमुखसँग प्रधानमन्त्री ओलीले मध्यरातमा भेट गरेको विषयलाई लिएर अहिले पार्टी भित्र र बाहिरबाट सरकारको व्यापाक आलोचना भइरहेको छ।
धेरैले यो घटनाबाट केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद उदांगो भएको दाबी गरिरहेका छन्।
तर नेता नेम्वाङले भने लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभागसहित नेपाल भारतबीचका अन्य सीमा विवादलाई समाधान गर्नेबारे मात्रै उक्त भेट केन्द्रीत रहेको दाबी गर्नुभएको हो।
गोयलसँगको भेटमा प्रधानमन्त्री ओलीले स्कन्द पुराणदेखि नै लिम्पियाधुरासहितका ती भूभागहरु नेपालका रहेको दाबी प्रस्तुत गर्नुभएको नेता नेम्वाङले बताउनुभयो।
मोदीको विशेष दूतका रुपमा गोयल नेपाल आएको पनि नेम्वाङको दाबी थियो।
तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोप्य रुपमा भेटेर फर्केका भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल विषेश दूतका रुपमा नआएको सत्तारुढ नेकपाकै नेताहरुले दाबी गरेका छन्।
गुप्तचर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूतका रुपमा नभई नेपालका प्रधानमन्त्री ओलीले बोलाएर आएको उनीहरुको जिकिर छ।
रअका प्रमुख गोयल विषेश दूतका रुपमा आएको भए आउनुपूर्व नै उक्त सूचना सार्वजनिक हुने, परराष्ट्र मन्त्रालयलाइ जानकारी हुने, मन्त्रालय र नेपालस्थित भारतीय दूतावासका प्रतिनिधिले विमानस्थलमा स्वागत गर्ने हुनुपर्नेमा त्यस्तो केही नभएको नेकपाका नेता मातृका प्रसाद यादवको तर्क छ।
यता नेपाल र भारतको सम्वन्धलाई कर्मचारीतन्त्रमा आधारित गराउनु घातक हुने टिप्पणी कांग्रेस नेताहरुले गरेका छन्।
दुई देशको सम्बन्धलाई कुटनीतिक वा राजनीतिक तवरबाट सुधारेमा मात्रै राम्रो र दिगो हुने बताउँदै कांग्रेस नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीले कर्मचारीतन्त्रमा सीमित रहनु मुलुकका लागि घातक हुने बताउनुभयो।
प्रधानमन्त्री ओलीले केही दिनअघि भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा रातको समयमा एक्लै भेटेको विषयले अहिले नेपालको राजनीति तरंगित भएको छ।
सत्तारुढ दल नेकपा भित्रै यो प्रसंगले नयाँ भुइँचालो गएको छ। विवादका कारण पार्टीका दुई अध्यक्षबीच संवाद समेत हुन नसकेको उच्च श्रोतले बताएको छ।
तर नेता नेम्वाङले पार्टी अध्यक्ष प्रचण्ड आइसोलेसनमा रहेका कारण मात्रै संवादमा ढिलाई भएको बताउनुभयो।