काठमाडौं । महर्षि वाल्मीकिद्वारा रचित महाकाव्य रामायणमा त्यसका मुख्य पात्र रामद्वारा उच्चारण गरिएको एक श्लोकले भनेको छ, आफूलाई जन्म दिने आमा र आफू जन्मिएको भूमि स्वर्ग बराबर हो । आमाको महत्त्व र स्थान दर्साउन यो श्लोक नै पर्याप्त छ । त्यसैले हाम्रो समाजमा सबै भन्दा पूजनीय भनेकै आमा हुन् । आमालाई पुज्ने वा ईश्वरीय आसन दिने संस्कार नेपाली वा हिन्दुहरूमा मात्र नभै संसार भरिका सबै जाति, समुदाय, सम्प्रदाय एवं धर्ममा समान रूपले व्याप्त छ । सन्तानको खुसीका लागि आफ्ना दुखहरूलाई हाँसीहाँसी स्वीकार गर्ने आमा आफ्नो सन्तानहरूका लागि जस्तोसुकै परिस्थितिसँग पनि जुध्न तयार हुन्छिन् । भनिन्छ एउटा रुखले जति फल फलेर हाँगालाई भुईँमा नुगाएपनि फल फल्न छाड्दैन । त्यसरीनै जति नै सन्तानहरू भएपनि आमाको माया भने बराबर हुन्छ । संस्कृतिविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार आमा संसारका विभिन्न गुरुहरूभन्दा महान् हुन् । शास्त्रहरूमा समेत आमालाई पिता भन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
हरेक वर्षको वैशाख कृष्ण पक्षको औँशीका दिन आमाको मुख हेर्ने दिन अर्थात् आमा खुवाउने औँशीको रुपमा मनाइन्छ । पौराणिक कालदेखि नै आजको दिन जन्मदिने आमाप्रति आदर व्यक्त गर्दै आमालाई मिठा मिठा खानेकुरा खुवाएर मनाइन्छ । यसरी श्रद्धा, भक्ति र सम्मान गरिएकी आमालाई आजको दिन अरू दिनभन्दा मिठो खान र राम्रो लगाउन दिई एक आपसमा आर्सीवाद लिने चलन पनि रहेको छ । यसो त आजको दिन टाढा टाढा रहेका विशेषगरी छोरीहरू आमालाई खुवाउनका लागि माइतीघर जाने गर्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले सञ्चारमाध्यमबाट आमालाई सम्झिने गर्ने गरिन्छ । आमा कुआमा हुन नसक्ने तर पुत्रपुत्री कुपुत्र र कुपुत्री हुनसक्ने हुँदा आमाले नै क्षमादानको ठूलो हृदय बनाउन सक्ने संस्कृति अध्येयता प्राडा विणा पौडेलको भनाइ छ ।
वैदिक सनातन हिन्दुहरूको बाहुल्य रहेको पवित्र भूमिमा गैह्र सांस्कृतिक क्रियाकलापले प्रशय पाउँदा संस्कृति मासिँदै गएको पाइन्छ । ठाउँठाउँमा वृद्धाश्रम बन्ने गरेका छन् । कुपुत्र, कुपुत्री जन्मिनुको परिणति आमाहरूले भोगिरहेका छन्, यसको अन्त्य हुन जरुरी छ ।