काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद राजन दाहालले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले सहकारी समस्या देशभरको समस्या भएकाले कुनै व्यक्ति विशेष नभएको र आम सरोकारको विषय भएकाले छानबिन समिति बन्न जरुरी रहेको माओवादीको निष्कर्ष रहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले कांग्रेसले व्यक्ति विशेषको विरोध गरेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै कांग्रेसको यो अडानमा शंका गर्ने ठाउँ रहेको बताउनुभयो । उहाँले कांग्रेसले एकजना व्यक्तिमाथि मात्रै छानबिन गर्नुपर्छ भनेर भन्नु असल नियत नभएको टिप्पणी गर्नुभयो ।
सहकारी समस्या राष्ट्रिय समस्या भएको भन्दै दाहालले कांग्रेस गृहमन्त्रीमाथि मात्रै केन्द्रित भएर सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले राजनीति पूर्वाग्रह छोडेर सहकारी पीडितलाई न्याय दिने कुरामा सहमत हुन आग्रह गर्नुभयो । एकजना व्यक्तिमाथि मात्रै छानबिन समिति नबन्ने भन्दै नेता दाहालले समग्र सहकारी समस्याको छानबिन हुँदैगर्दा यदि गृहमन्त्री रवि लामिछाने दोषी देखिए उहाँमाथि पनि कारबाही हुने दाबी गर्नुभयो । अहिले संसदीय छानबिन समिति बनाउन सत्ता साझेदार दलमा एकमत रहेको बताउँदै उहाँले कांग्रेस पनि तयार हुनुपर्ने बताउनुभयो ।
यस्तै उहाँले अहिले सत्ता गठबन्धनमा केही समस्या भएपनि सरकार नै परिवर्तन नहुने जिकिर गर्नुभयो । सत्ता साझेदार दलभन्दा बाहिर गएर कोही पदको लोभमा लागेको भए त्यो सडकमा पुग्ने दाबी गर्नुभयो । अहिले राष्ट्रिय राजनीतिमा आएको समस्याले प्रदेश सरकारमा पनि केही समस्या देखिएको बताउँदै उहाँले अब सत्ता गठबन्धनको बैठक बसेर प्रदेशको गाँठो फुक्ने बताउनुभयो ।