Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वेस्टइन्डिज ‘ए’सँगको लगातार तेस्रो हारसँगै नेपालले गुमायो सिरिज

वेस्टइन्डिज ‘ए’सँगको लगातार तेस्रो हारसँगै नेपालले गुमायो सिरिज

  • बिहिवार, बैशाख २० २०८१

  • 887
    SHARES

  • वेस्टइन्डिज ‘ए’सँगको लगातार तेस्रो हारसँगै नेपालले गुमायो सिरिज
    काठमाडौं । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।
     
    २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन ।
     
    रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यसबाहेक, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाए । अभिनाश बोहराले १७ रन जोडे । 
     
    वेस्ट इन्डिजका म्याथ्यु फार्डे र हाइदेन वाल्सले समान तीन विकेट लिए । गुडाकेस मोटी र फाबियन एलनले समान दुई विकेट हात पारे ।
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो ।
     
    वेस्ट इन्डिजका फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ४६ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । ९–१ को अवस्थामा ब्याटिङका लागि आएका फ्लेचरले दोस्रो विकेटका लागि जोनसन चार्ल्ससँग ९२ रनको साझेदारी गरेका थिए ।  
    चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्कासहित ५८ रन बनाए । फाबियन एलनले १९ बलमा दुई चौका र तीन छक्कासहित ३३ रन थपे ।
     
    नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
     
    जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । अब यी दुई टिमबीचको पाँचौं तथा अन्तिम  खेल शनिबार हुनेछ ।
     


    बिहिवार, बैशाख २० २०८१०४:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij