काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि आज विशेष अभियान उद्याटन गर्दैछ। नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा शुरु गरिएको “जाउँ हिँड रेसुङ्गा” अभियान अन्तर्गत पर्यटन प्रवद्र्धन कार्यक्रमको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्याटन गर्दै हुनुहुन्छ।
रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धनमा टेवा पुराउने उद्देश्यले सुरु गरिएको अभियानको आज काठमाडौंको अनुपम फुडल्याण्डमा विशेष कार्यक्रमका साथ उद्याटन समारोहको आयोजना गरिएको नगर प्रमुख खिलध्वज पन्थिले जानकारी दिनुभयो।
रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप उक्त अभियान सुरु गरिएको पन्थिले बताउनुभयो। प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षैभरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थिले जानकारी दिनुभयो।