Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के जाडोयाम सुरु भएसँगै नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्ने खतरा छ?

के जाडोयाम सुरु भएसँगै नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्ने खतरा छ?

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.5K
    SHARES

  • के जाडोयाम सुरु भएसँगै नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्ने खतरा छ?

    काठमाडौँ – दसैँको अन्त्य र जाडोयामको सुरुवातसँगै नेपालमा कोरोना संक्रमणको स्थिति थप भयावह बन्न सक्ने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका छन्।

    त्यसको सामनाका लागि पर्याप्त तयारीमा जुट्न उनीहरुको आग्रह छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले जाडोयाममा संक्रमणको फैलावट आक्रामक रुपमा बढ्न सक्ने बताउनुभयो।

    चिसो बढेपछि परिवर्तन हुने मानिसहरुको जीवनशैलीले पनि कोरोना संक्रमण फैलाउन मद्धत गर्ने उहाँको भनाई छ।

    जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले पनि चिसो मौसमको जीवनशैली कोरोना संक्रमण फैलाउन सहयोगी हुन सक्ने बताउनुभयो।

    उहाँले चिसोयाममा मानिसहरुलाई रुघाखोकी धेरै लाग्ने भएकोले पनि भाइरस फैलिन सक्ने सम्भावना उच्च हुने बताउनुभयो।

    मानिसको मुख तथा नाकबाट निस्कने छिटाहरु तापक्रम कम भएका कारण सुक्न समय लाग्ने भएकोले पनि हावामा रहेको भाइरस नष्ट हुन समय लाग्ने उहाँको भनाई छ।

    जाडोयाममा लगाइने ज्याकेट तथा स्वीटर लगायतका कपडाहरु कम धोइने गरेका कारण पनि कोरोना संक्रमण फैलिने खतरा बढी हुने डा. पाण्डेले बताउनुभयो।

    हुन त अहिले दैनिक कोरोना संक्रमित पुष्टि हुने क्रम घटेको छ। दसैँका बेला मानिसहरुको परीक्षण कम भएका कारण पनि संक्रमित कम देखिएका हुन्।

    तर दसैँको अन्त्यसँगै अब संक्रमणको स्थिति आक्रामक रुपमा बढ्ने भएकोले उच्च सतर्कता अपनाउन आवश्यक रहेको डा. पाण्डेले बताउनुभयो।

    जाडोयाममा भयावह हुन सक्ने कोरोना संक्रमणको स्थितिलाई रोकथामका लागि अहिलेदेखि नै राज्य र नागरिक दुवैले प्रयत्न गर्नुपर्ने उहाँको सुझाव छ।

    नेपालमा संक्रमणको स्थिति अहिले पनि करिब करिब नियन्त्रण बाहिर गइसकेको जनस्वास्थ्यविदहरु बताउँछन्।

    तर अब जाडोयाममा थप सतर्कता नअपनाए ठूलो क्षति हुने सम्भावना नजिक छ।

    युरोपका देशहरुमा संक्रमणको दोस्रो लहर सुरु भई मृत्युदर अघिल्लो हप्ता भन्दा ४० प्रतिशतले बढेको छ।

    त्यसैले नेपालको क्षितिजमा देखिन थालेको कोरोना संक्रमणको भयानक दुर्घटना रोक्न सरकारले समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।


    बुधवार, कार्तिक १२ २०७७०७:३२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij