Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

  • आइतवार, बैशाख १६ २०८१

  • 730
    SHARES

  • वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    काठमाडौं । वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १–१ को बराबरीको अवस्थामा पुगेको छ ।

    १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

    गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए ।

    वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १–१ विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

    स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

    तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेष्टइण्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् ।

    रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

    नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

    वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १–१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

     

     

     


    आइतवार, बैशाख १६ २०८१०४:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij