काठमाडौ। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारदेखि घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दैछ। दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक हो। आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा छ। वेस्ट इन्डिजले ‘ए’ टीम पठाएपनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ।
वेस्ट इन्डिज ‘ए’ टीममा ३ खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन्। सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहेको आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टीमबाट एक सयभन्दा धेरै खेल खेलिसकेका रोस्टन चेससम्मलाई वेस्ट इन्डिजले टीममा समेटेको छ।क्यानका पूर्व सचिव प्रशान्त मल्लले अहिले हुने ५ टि–ट्वान्टी सिरिजले विश्वकपको तयारीलाई सहज हुने बताउनुभयो। वेस्टविण्डिजले यो खेललाई नजिकबाट नियाल्ने उहाँको भनाइ छ ।
नेपालले जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने हुने टी–२० विश्वकप खेल्दैछ। उक्त तयारीका लागि नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो। नेपालका लागि यो तयारी मात्रै हुने छैन, आफ्नो स्तरमापन गर्ने अवसर पनि हुनेछ।
किनकि नेपालले टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड र बङ्गलादेशको सामना गर्ने तालिका छ। क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले विश्वकप तयारीमा नेपालको लागि यो खेल कोशेढुंगा साबित हुने बताउनुभयो।
क्यानका पूर्व सचिव एवं खेलाडी किरण राणाले भने दुई पटक विश्वकप बिजेता टोलीलाई नेपालले गर्नुपर्ने सम्मानमा कमि भएको बताउनुभयो। अन्य देशहरुमा समेत यी विषयहरुले असर गर्ने उहाँको भनाइ थियो । नेपाली खेलाडीले तयारीमा खरो रुपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। प्रतिस्पर्धी टिम पनि आफ्नै हैसियतको हुनुपर्ने उहाँको भनाइ छ ।
विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ। तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन। एक दिवसीय क्रिकेटमा भारत र पाकिस्तानसँग खेलिसकेको नेपालले टी–२० मा भने खासै खेल्न पाएको छैन ।