काठमाडौं । अर्थविद् डा. चिरन्जिवी नेपालले कतारका राजाको दुईदिने नेपाल भ्रमण निकै उपलव्धिमूलक भएको बताउनुभएको छ ।
संसारकै चौथो धनी देशका प्रमुख त्यसमा पनि नेपालीको प्रमुख गन्तव्यस्थल कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालमा आएर आठवटा लगानी र सहकार्यसम्बन्धि सम्झौता गर्ने भनेर हस्ताक्षर गर्नु नै ठुलो उपलब्धिपूर्ण र महत्वपूर्ण पाटो रहेको उहाँको दाबी छ ।
नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजाको प्रतिनिधिमण्डलबीच हिजो भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपतिका सल्लाहकारसमेत रहनुभएका अर्थविद् नेपालले यी सम्झौताहरु अब सरकारले राम्रोसंग अगाडि बढाएमा देशको विकाशका लागि राम्रो हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उहाँले धनी राष्ट्रको प्रमुख नेपाल आउनु नै त्यहाँको लगानी नेपालमा हुन सक्छ है भन्ने ठुलो म्यासेज भएकाले आगामी दिनमा धेरै आस गर्न सकिनेमा जोड दिनुभयो ।
अब नेपालले फलोअप गर्नुपर्ने बताउँदै उहाँले अहिले सम्झौता गर्ने पछि व्यवास्ता नै नेपालबाट हुने भएकाले यस्ता विकाशे सम्झौताहरु अगाडि बढ्न नसकेको स्विकार गर्नुभयो ।