काठमाडौं । इन्डियन प्रियमर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि २० रनको शानदार जित निकालेको छ।
टस जितेर सुरुमा चेन्नईलाई ब्याटिङको निम्तो दिएको मुम्बईले २०७ रनको लक्ष्य पाएको थियो। अन्तिम ओभरमा चार बल खेल्दै महेन्द्रसिंह ध्वनीले हार्दिक पाण्डेयको बलमा लगातार तीन छक्कासहित २० रन जोडेपछि ४ विकेटको क्षतिमा चेन्नईले २०६ रनको विशाल योगफल बनाएको थियो। २०७ रनको लक्ष्य पछ्याउनेक्रममा रोहित शर्माले शतकीय इनिङ खेले पनि मुम्बई ६ विकेटको क्षतिमा १८६ रनमा समेटिएको हो।
शर्माले नटआउट रहेर १ सय ५ रन बनाउँदै टोलीका लागि जितको आधार तय गरे पनि अन्य ब्याटरले साथ नदिँदा टोली आफ्नै घरेलु मैदानमा निराश बन्न पुग्यो । उनले ६३ बलमा ११ चौका र ५ छक्का हिर्काए ।
तिलक वर्माले २० बलमा ३१ रन तथा विकेटकिपर ईशान किसनले १५ बलमा २३ रन बनाउनुबाहेक अन्यले ठुलो योगदान दिन सकेनन् । प्लेयर अफ द म्याच मथिसा पथिरानाले घातक बलिङ गर्दै मुम्बईको इनिङ्स ध्वस्त पारे । उनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । टोलीका लागि कप्तान रुतुराज गैकवाडले सर्वाधिक ६९ रनको योगदान दिए । त्यस्तै शिवम दुवेले ३८ बलमा ६६ रनको शानदार इनिङ्स खेले ।
रचिन रवीन्द्रले २१ रन तथा डेर्यल मिचेलले १७ रन बनाए । खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै ४ बलमा २० रन बनाए । उनले यस क्रममा ३ छक्का प्रहार गरेका थिए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा जेराल्ड कोट्जी र श्रेयस गोपालले १–१ विकेट लिए ।
६ खेलपछि चौथो जित हासिल गर्दै चेन्नई ८ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । उता चौथो हार बेहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा सीमित बनेको छ ।
आईपिएल अन्तर्गत सोमबार(आज) एक खेल हुँदैछ। साँझ ७ः ४५ मा सुरु हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।