काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।
दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।
दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
नेपालले यस खेलमा कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।