Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रेशमलाई श्रीमतीको पत्र

रेशमलाई श्रीमतीको पत्र

  • मंगलवार, चैत्र २० २०८०

  • 4.3K
    SHARES

  • रेशमलाई श्रीमतीको पत्र

    प्रिय जीवनसाथी
    न्यानो अभिवादन र माया !

    निकै ठूलो जंहार तरेर यहाँसम्मको यात्रा तय गरेका छौँ । ती कष्ठपूर्ण यात्राहरुले नै आजको दिनसम्म पुर्याएको हो । विगतलाई सम्झिन्छुँ, झसङ्ग हुन्छु । कहिलेकाहीँ त वर्तमानमा भइरहेका गतिविधिहरु सपना पो हुन् की लाग्छ फेरि ब्यूझिँन्छु र मनलाई थाम्न खोज्छुँ । यो बहकिने मन कता–कता डुल्छ मेसो नै पाउँदिन । आफैलाई कन्ट्रोल गर्नुको विकल्प पनि त छैन । मलाई तपाईंले राम्रोसँग चिन्नुभएको छ । हाम्रो यो सहयात्रामा अहिलेसम्म कसैको पनि नजर लागेको छैन । नलागोस् पनि ।

    प्रिय मन, तपाईं कैलालीको थारुको छोरो म काठमाडौंकी नेवारनी । हाम्रो पारिवारिक रहनसहन, शैली निकै फरक थियो तैपनि हाम्रो मायाको अगाडि कसैको केही लागेन । हामी एकबाट दुई भएको पनि धेरै भइसकेको छ । कैलालीको टीकापूरमा गर्नुपरेका संघर्ष, पहिचानका लागि आवाज उठाउनुपर्दाको पीडा तत्कालीन सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले दिएको ढाडस यी सबै मेरो मानष्पटलमा बसेका छन् । म कुनै राजनीतिक पृष्ठभूमिबाट थिइन, यो तपाईंलाई पनि राम्रोसँग थाहा छ । तर, मेरो जिज्ञासु स्वभाव र तार्किक शैली पहिलेदेखि नै अब्बल हो जसमा तपाईंले स्थापना गरेको फुलबारी एफ.एम.ले थप मलजल गरेको पनि पक्का हो । तपाईंले एक श्रीमतीका लागि गर्नुपर्ने कुनै कसर बाँकी राखेजस्तो मलाई लागेको छैन ।

    प्रिय मन, हाम्रो जीवन राम्रैसँग अगाडि बढिरहेको नै थियो तर, थारु समुदायलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने राजनीतिक दलहरु र दिनप्रतिदिन बिग्रिँदै गएको सामाजिक अवस्थाको साक्षी तपाईं र म थियौँ । तत्कालीन समयका शासकहरु त घाम झुल्किएझैँ कहिलेकाहीँ त्यहाँ पाइला टेक्थे । त्यहीँ थितिलाई तिलाञ्जली दिन र समाजमा नयाँ उर्जा भर्न हाम्रो आन्तरिक प्रयास जारी नै रहेको पनि यहाँलाई स्मरण नै छ । जसमा हामीलाई विभिन्न ठाउँ, क्षेत्रका पहिचानवादी नेताहरुले ढाडस दिएको कुरा पनि सत्य नै हो ।

    प्रिय मन, हामी स्वतन्त्रता चाहान्थ्यौँ, शान्तिपूर्ण आन्दोलनका माध्यमबाट अधिकार स्थापित गर्ने धोको थियो, बिडम्बना लामो समयदेखि शासनसत्तामा रहेका शासकहरुले थारुहरुलाई अधिकारको कुरा गर्दा, रोजगारी, पहिचानको कुरा गर्दा कहाँ ठिक मान्थे र ! अधिकारका लागि उठेका थारु आवाजहरुमा २०७२ साल भदौ ७ गते कसको गिद्धे नजर लाग्यो थाहा भएन । त्यो घटना निकै अप्रत्यासित थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५, सशस्त्रका दुई र एक बालकसहित ८ जनाले मृत्युवरण गर्नुपर्यो ।

    http://nepalinetwork.com/news-details/27537

    प्रिय मन, त्यसपछि त हाम्रो जीवनमा निकै ठूलो बज्रपात आइलाग्यो । सोही घटनामा संलग्न भन्दै तपाईंलाई सबैले तारो बनाए । थारु समुदायका नागरिकले पीडा खेपे, महिलामाथि ज्यादती भयो । तपाईंले आफू निर्दोष भएको बताइरहँदा त्यो समयमा कसले सुन्थ्यो र ? सबै राज्यका निकाय तपाईंविरुद्ध आक्रामक बनेका थिए । केही समयको निर्वासन र भूमिगत जीवनको पीडा त अहिले कसरी व्यक्त गरुँ । पछि तत्कालीन समयमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतमा भएको तपाईंको भेट र पछि नेपाल आई आत्मसमर्पण गर्दासम्मको अतित पीडादायी नै छ । यो पत्रमा धेरै लेख्न सकिन ।

    प्रिय मन, तपाईं जेलभित्र बस्दा मलाई कम्ति कठिन भएन । छोराको पढाईदेखि आफू सम्हालिन समेत निकै असहज भएको थियो । तपाईं कहिले बाहिर आउनुहोला भन्ने मात्रै मनमा खेलिरहन्थ्यो । त्यो बीचमा तपाईंलाई बाहिर ल्याउन गरिएको दुःख र विभिन्न दलहरुको प्रलोभन आश्वासनको भुक्तभोगी म आफै हुँ । एउटा परिवर्तनकारी योद्धा मात्र नभई तपाईं त मेरो श्रीमान पनि त हो । आफ्नै देशभित्रको परदेशी बन्दा मलाई कति दुख्यो होला ? म कति तड्पिए हुँला ? हुनत अब यी सबै विषय अतित भइसकेका छन्, यी फगत कुरामा धेरै समय खेर नफालौँ ।

    प्रिय मन, तपाईं जेलभित्र हुँदा गर्भधान गरी जन्मिएको नाबालक ‘नागरिक उन्मुक्ति पार्टी’ २०७९ सालको आमनिर्वाचनमा फक्रिएर आयो । त्यो बीचका सबै संघर्ष कसलाई सुनाएर साध्य हुन्छ र ? त्यो तपाईं र मलाई थाहानै छ । तपाईं जेलभित्रै हुँदा टीकापूरका जनताले दर्शाएको मायाको उपज यो पार्टी हो । यो पार्टीको संस्थापक तपाईं हो, तपाईंकै पपुलारिटीले हामीले मत पाएका हौँ । भोलि पनि यो पार्टी जति माथि झाँगिन्छ रेशमकै कारण बढ्ने हो भन्ने कुरालाई कसैले असत्य भन्न सक्दैन । अहिले यो बीचमा जति विषयहरु बाहिर आएका छन् तपाईं र म सम्हालिनुपर्छ । हुनत, यो देशमा क्रान्ती गरेर हजारौँ नागरिकले मृत्युवरण गर्नुपर्यो त्यसको दोष केही दल र व्यक्तिले बोकेकै छन् , अध्यक्ष चलाएकै छन्, तत्कालीन समयका जमिनदारलाई भाला रोपेर जेल सजाय काटेकाहरुले पनि अध्यक्ष चलाएकै छन्, बिडम्बना निर्वाचन आयोगले तपाईंलाई अध्यक्ष बन्न नपाउने भनेपछि हाम्रो के लाग्छ र ? यसमा कुनै शंका र सन्देह छैन ।

    प्रिय मन, अन्तमा धेरैले यो हाम्रो पारिवारिक झगडाले ठूलो रुप लिँदै गएको प्रक्षेपण गरेका छन्, न तपाईं मान्ने न म पछि हट्न सक्ने । यो परिस्थितिको सामना गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, जीवनको कुनै मोडमा आएर गल्ती कसको हो आत्मसमिक्षा गर्ने वातावरण जुटोस् । अझै भन्छु एकपटक तपाईं र मेरो घनिभूत छलफल होस् । मैले कसैको कुरा सुनेकी छैन । मलाई जीवनका धेरै हण्डर ठक्करले पाठ सिकाइसकेको छ । तपाईं बिना पार्टी र म अधूरो नै हुन्छौँ, विचारको लडाईंलाई राजनीतिक माध्यमबाट समाधान गर्दै हाम्रो पारिवारिक जीवनका तिक्तता ओकल्ने स्थान खोजिरहेकी छुँ ।

    प्यारी रञ्जिता

     

    (यो कल्पनामा आधारित पत्रका लेखक खेम बम हुन् ।)


    मंगलवार, चैत्र २० २०८००५:२१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij