काठमाडौं । पाल्पा जिल्ला घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्दै आएका पाल्पालीहरुले रंगहरुको पर्व फागु मनाएका छन् । एकआपसमा रंग दलेर संस्कृति झल्काउने फागु गीत गाउँदै होली मनाइएको हो ।
पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज चन्द्रागिरिको आयोजनामा सतुङ्गल पार्टीप्यालेसमा फागुको शुभकामना आदन प्रदान तथा पाल्पाली फागु खेल्ने कार्यक्रम राखिएको थियो ।

फागु संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न, लोप हुँदै गएको पाल्पाली फागुको गीत नाँचसहितको सस्कृति बचाउन कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । लोकगायक अमृत अधिकारीले फागु खेलन हो होली खेलनंं..., होली जनकपुरी सितामाई खेलन आई.... जस्ता पाल्पाली फागु संस्कृतिका गीतबाट कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा चर्चित लोक गायक नविन पौडेल, श्रीकृष्ण भण्डारी, प्रकाश गौतम, प्रेम लामिछाने मगर, दिवाकर पराजुली, दिपेन्द्र पौडेल, गोविन्द देवकोटा लागायतले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पाल्पाली फागु संस्कृतिलाई चन्द्रागिरिमा पनि बचाई राख्न बजेटसहित वार्षिक कार्यक्रमको रुपमा राख्ने बताउनुभयो । संस्कार र संस्कृति जगेर्ना गर्ने कार्य स्थानीय तहको पनि भएकाले हरेक समुदायका रितितिथिलाई सम्वर्द्धन गर्नु नगरको दायित्व रहेको उहाँको भनाइ थियो ।

समाजका अध्यक्ष प्रेम कार्कीले काठमाडौंमा रहेपनि पाल्पाली मौलिक कला संस्कृतिलाई बचाउन लागिपर्ने बताउँदै आगामी वर्षहरुमा अझ व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।