Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

फागु अर्थात् होली पर्वः असत्यमाथि सत्यको विजय भएको दिन,कामदेवले बसन्तऋतुको उत्पत्ति गरेको किंवदन्ती (खासखबर)

फागु अर्थात् होली पर्वः असत्यमाथि सत्यको विजय भएको दिन,कामदेवले बसन्तऋतुको उत्पत्ति गरेको किंवदन्ती (खासखबर)

  • आइतवार, चैत्र ११ २०८०

  • 502
    SHARES

  • फागु अर्थात् होली पर्वः असत्यमाथि सत्यको विजय भएको दिन,कामदेवले बसन्तऋतुको उत्पत्ति गरेको किंवदन्ती (खासखबर)

    काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ। काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाहरुमा होली आपसी भाइचारा, सद्भाव, आत्मियता साटफेर गरी मनाइएको छ।

    बसन्त ऋतुको आगमनसँगै मानिसमा एक प्रकारको रसरंग भर्नका लागि फागूले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। संस्कृतिविद् एवं प्राज्ञ यज्ञप्रसाद उपाध्यायले होरी अर्थात् होली रस र रंगले उमंग थप्ने पर्व भएको बताउनुभयो। विभिन्न भाकाहरुले होलीमा थप रंग भरेको हुन्छ।

    यस पर्वका अवसरमा काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएका छन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। संस्कृतिविद् सूर्यचन्द्र रिजालले रंगहरुको पर्व होली असत्यमाथि सत्यको विजयोत्सव रहेको बताउनुभयो ।

    द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको संस्कृतिविद् डा. निर्मला पोखरेलको भनाइ छ । कामदेवले बसन्तऋतुको उत्पत्ति गरेको किंवदन्ती रहेको पनि उहाँको भनाइ छ ।

    यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ ।


    आइतवार, चैत्र ११ २०८००८:०३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij