काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।
सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि मन्त्रालयले मंगलबार(आज) २४ घण्टाभित्र इजाजत दिइएका हतियारको विवरण उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन परिपत्र गरेको हो।
‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजत पत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ।