रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुुभएको छ ।
यता, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भइ हाल घोराही–१५ स्थित आफ्नै घरमा बसेका संक्रमित ५३ वर्षीय पुरुषको हिजो मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ।
त्यस्तै, पाल्पाको तानसेनस्थित मिसन अस्पताल, भुषालडाडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । यस्तै कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाँचमहिने बालिकासहित एक महिलाको मृत्यु भएको छ । उनीहरूको हिजो साझँ मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका–११ सिधिंवा चोककी ५२ वर्षीया महिला र मोरङको सुन्दर हरैंचा नगरपालिकाकी पाँचमहिने बालिका रहेका छन् ।