काठमाडौं । माझी बस्तीमा दशै मनाउदै आउनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीले यस पटक पितृ शोकमा परेकाले आफु माझी बस्तीमा जान नपाएपनि उनीहरुसँगको दशैँले भने निरन्तरता पाउने भएको छ ।
उहाँले विगतका ६ वर्षसम्म निरन्तर ६ सय बालबालिका र उनीहरुका परिवारजनसँग दशै मनाउनु भएको थियो । तर यसपटक ५९७ जनामात्र हुने भएका छन् । उहाँले दुःख बिसाउँदै भन्नुभयो, ‘तीन विद्यार्थीको पहिरोमा परी निधन भयो, अत्यन्त दुःख लागेको छ ।’
चाडपर्व मनाउँदा आफु मात्रै नभई अरुलाई पनि खुशी बनाउनु पर्ने मान्यताका साथ आफुले गरिव बस्तीमा गएर दशै बनाउने गरेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुले नै जनतालाई अभिभावकत्व नदिएको टिप्पणी गर्दै भन्नुभयो, “मैले सुरुआत गरेको हुँ । मैले उनीहरुलाई घर बनाइदिएको छु । बोटे, माझी लगायतका आर्थिक अवस्था कमजोरभएकालाई सुरुमा गरेँ । त्यसपछि अन्य जातजाति तथा समुदायलाई पनि सहभागी गराएको छु ।’
गृहजिल्ला गुल्मीका विभिन्न स्थानका ६ सय बालबालिकालाई चाहिने अत्यावश्यकीय सामग्री प्रदान गर्दै आउनु भएका भण्डारीले उनीहरु र उनीहरुका परिवारसँग दशै मनाउनु गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, यसपालि त्यस क्षेत्रमा जान पाइन, म शोकमा छु, तर मैले दशैं नमनाउँदैमा मेरो अभियान रोकिन्न । ती विद्यार्थीको मुहारको हाँसो रोकिन्न । समिति बनाएको छु । त्यो समितिले काम गर्छ । नमूना दशैं यसपटक पनि नमूना नै हुन्छ ।’
डा.भण्डारीका अनुसार नवमीका दिन भोली पाँच स्थानमा र दशमीका दिन एक स्थानमा गरी छ स्थानमा दशैंको टीका लगाइदिने कार्यक्रम रहेको छ ।
अनन्त पौडेलको अध्यक्षतामा गठित समितिले नै यो कार्य गर्ने डा भण्डारीले जानकारी दिनुभयो । नवमीका दिन वुवाकोट ढेब्दी, रुपाकोट, बालविकास केन्द्र मजुवा, आँटीपाटा बम्घा र बम्घाकै लक्ष्मी निमाविमा टीका लगाउने कार्यक्रम रहेको छ भने दशमीका दिन बलिथुमको विद्यालयमा टीका लगाइदिने कार्यक्रम रहेकोछ ।
समितिले उनीहरुलाई टीका लगाउदै आवश्यकता अनुसार उपहार दिने र खाना खुवाउने कार्यक्रम रहेको डा भण्डारीले बताउनु भयो ।
उनी भन्छन्, ‘कोही त आउँदैछ दशैंमा भन्ने ती गरिब, असहायलाई पार्न सकियो भनेमात्रै पनि दशैंको सार्थकता हुने थियो । आशा जगाउने हो भने उनीहरुले पनि भोलिका दिनमा धेरै गर्न सक्नेछन् ।’
डा. भण्डारी अगाडि थप्नुहुन्छ, ‘हरेक सक्नेले नसक्ने एक जनाको मात्र जिम्मा लिने हो भने पनि कोही भोकै पर्दैनन् र कसैको भविष्य अन्धकार हुँदैन । त्यसैले म भन्छु पैसा भएर हुन्न दिल चाहिन्छ ।’
डा. भण्डारीको यो सत्कर्ममा सत्यनारायण केबल, राजकुमार बस्नेत, निरु मल्ल लगायतले सहयोग गरिरहेका छन् । यसपटक पनि उनीहरुले समितिलाई रकम पठाइदिएको डा भण्डारीले जानकारी दिनुभयो ।
दशैंको टीका कार्यक्रम उनीहरुको परिवारमा मात्र सीमित हुन्न सिङ्गो गाउँ नै सहभागी हुन्छ । त्यहाँ कुनै जातभात वा वर्ग समूहमा विभक्त हुँदैन ।
डा भण्डारी भन्नुहुन्छ, ‘दशैं तिहार जस्ता चाडपर्वले परिवारलाई अवश्य पनि खुशी दिन्छ तर त्योसँगै गाउँ समाजलाई पनि जोड्न सक्ने हो र गच्छेअनुसार अरुलाई सघाउने भावना उत्पन्न हुने हो भने दुनियाँ नै खुशी हुन्थ्यो भन्ने मेरो कामना हो ।’
नेताहरुले जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनता दुःखी हुँदै गएको बुझाइ राख्ने भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अब्बल सावित भएको स्थानीय बताउँछन् ।