काठमाडौं । नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ ।
‘हामी पत्रको प्रतीक्षामा छौँ, पत्र प्राप्त भएपछि शपथको समय निश्चित हुन्छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आजै शपथ गराउँछु भनेर राष्ट्रपतिज्यूलाई जानकारी गराइसक्नु भएको छ ।’ कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको थियो । भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।
जसअनुसार प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराउनुभएको हो । गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार ५ बजेपछिमात्रै शपथका लागि पत्र पठाउने तयारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अहिले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । नयाँ गठबन्धनले सरकार सञ्चालनको खाका बनाएर आजै सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो साढे २ बजे अर्थात् अहिले केही बेरपछि बैठक बसेर लिखित सहमति सार्वजनिक हुनेछ ।