काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच बालुवाटारमा भएको भेटले नेपालको राजनीति तरंगित भएको छ।
एक्कासी नेपाल आएका रअका प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच मध्यरातमा दुई घण्टा भएकोे भेटमा के कुराकानी भयो भन्ने विषयलै झनै संशय पैदा गरेको छ।
कुटनीतिक मर्यादा बिर्सेर प्रधानमन्त्रीले रअका प्रमुख गोयललाई भेटेको विषयले विपक्षी दलहरुसँगै सत्ता पक्षका नेताहरुले गम्भीर आपत्ति प्रकट गरेका छन्।
पूर्व गृहमन्त्री समेत रहनुभएका नेकपाका एक प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री ओलीले रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोप्रति गम्भीर आपत्ति जनाउनुभयो।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले गोयलसँग भेट्नु कूटनीतिक मर्यादा र नेकपाको भावना विपरीत रहेको भन्दै विरोध जनाउनुभयो।
नेता रावलले रअका प्रमुखसँग भएको प्रधानमन्त्रीको भेटमा के कुराकानी भयो भन्नेबारे नेपाली जनतालाई थाहा जानकारी दिनुपर्ने माग गर्नुभयो ।
उहाँले मुलुकको गरिमामा क्षति पु¥याउने यस्ता भेटघाटलाई निस्तेज पार्न नेपालका सबै राजनीतिक दलहरुले विरोध जनाउनुपर्ने बताउनुभयो ।
हालै सम्पन्न नेकपाको स्थायी कमिटि बैठकको निर्णय विपरीत प्रधानमन्त्रीले कदम चालिरहेको नेता रावलले बताउनुभयो।
यस्तै प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भएको भेटप्रति प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महतले निहीत स्वार्थका लागि प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय स्वार्थको बली चढाएको टिप्पणी गर्नुभयो।
उहाँले ओली सरकारले कुटनीतिक मर्यादालाई कुनै ख्याल नगरेको आरोप लगाउनुभयो।
राजनीतिक विश्लेषकहरुले पनि प्रधानमन्त्री र रअका प्रमुखबीच भएको भेटमा भएको कुराकानी जनतालाई थाहा दिनुपर्ने माग गरेका छन्।
रअका प्रमुख आएको र प्रधानमन्त्रीलाई भेटेर गएको विषयले राजनीतिक हलचल मच्याएको बताउँदै विश्लेषक लोकराज बरालले यसबारे यथार्त जानकारी जनताले थाहा पाउनुपर्ने बताउनुभयो।
साझा पार्टीले पनि कूटनीतिक मर्यादाविपरीत भएको भेटबारे तत्काल जवाफ दिन माग गरेको छ।
खुफिया एजेन्सी प्रमुखलाई नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत मिलेको दाबी साझा पार्टीले गरेको छ।
प्रधानमन्त्रीबाटै नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि ठाडो आक्रमण भएको भनेर अहिले सामाजिक सञ्जालमा पनि चर्काे आलोचना भइरहेको छ।