Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कीर्तिमानी रन बनाएको नेदरल्यान्ड्सले नामिबियालाई हरायो

कीर्तिमानी रन बनाएको नेदरल्यान्ड्सले नामिबियालाई हरायो

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 1.5K
    SHARES

  • कीर्तिमानी रन बनाएको नेदरल्यान्ड्सले नामिबियालाई हरायो
    काठमाडौं । माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।
     
    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।
     
    नेदरल्यान्ड्सले आज नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।
     
    यसका अतिरिक्त जारी शृंखलामा कुनै पनि टोलीले बनाएको पनि यो सबैभन्दा ठूलो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले एक सय ३५ रन बनाएका थिए ।
     
    जारी शृंखलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन पनि हो । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकीय पाली खेलेका थिए ।
     
    साइब्रान्डले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपेका थिए । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिएका थिए ।
     
    जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको नामिबियाका दुवै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकले सर्वाधिक ४२ रन बनाए ।
     
    नामिबियाका लागि तल्लो क्रमका ब्याट्सम्यान जेन ग्रिनले पनि अविजित ४२ रनको योगदान गरे । उनले केवल २० बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । नामिबियाका लागि जिन पियर कोट्जीले २६ रन बनाए ।
     
    नेदरल्यान्ड्सका बलर टिम भान डर गगटेनले दुई विकेट लिए । जारी शृंखलामो दोस्रो खेल खेलेको नामिबियाको यो पहिलो हार हो । यसअघि शृंखलाको उद्घाटन खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो । दुई खेल खेलेको नेपालले भने हालसम्म जित हात पार्न सकेको छैन । प्रतियोगिता अन्तर्गत नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।
     
     
     


    बिहिवार, फाल्गुण १७ २०८००३:०९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij