काठमाडौं । हास्यकलाकारद्धय सिताराम कट्टेल धुर्मस र कुन्जना घिमिरे सुन्तलीले बनाउन नसकेर अल्पत्र परेको चितवनको क्रिकेट रंगशाला अव भने बनाउने प्रक्रिया अगाडि बढ्ने भएको छ ।
भरतपुर महानगरपालिका भित्र पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले आज टेन्टर प्रकाशित गरेकाले निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।
रंगशालाका लागि बागमती प्रदेश सरकारले यसअघि नै ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। गत कात्तिकमा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कुल ७५ करोड रुपैयाँको लागत अनुमानको आधारमा ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो।
कलाकारद्धय धुर्मस र सुन्तलीले रंगशाला बनाउने घोषणा गरेर काम सुरु गरेपनि पर्याप्त बजेट नभएपछि काम रोकिएको थियो । उनीहरुले देश विदेशमा रहेका आफ्नो सुवेच्छुकहरुबाट उठाएको रकमबाट नपुगेपछि निर्माण कार्य अलपत्र परेको थियो । रंगशाला निर्माणको काम अव भने महानगरपालिका र प्रदेश सरकारले लिएका हुन् ।
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानअनुसार १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माण गरिने भएको छ ।