काठमाडौं । कोरियाको भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका परीक्षार्थीहरु माथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भयो । बालकुमारीमा भएको घटनाको तीन महिना बितिसक्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै चर्को आलोचना भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले छानबिन समितिको प्रतिवेदनले नै मन्त्रीलगायत प्रहरीलाई दोषी देखाउँदा समेत कारबाही किन नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले दुई यूवाको हत्या गरेको भन्दै जसका कारण घटना भएको हो त्यो मानिस झण्डा फरफराउँदै हिडेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेले पनि मन्त्री ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै भ्रष्टाचारमा नाम जोडिएका थप दुई मन्त्रीले समेत राजीनामा दिनुपर्ने माग राखेको छ । एमाले सचेतक महेश बर्तौलाले सामान्य सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा कुनै हालतमा मान्य नहुने बताउनुभयो । बालकुमारी घटनामा सानालाई ऐन ठूलालाई चयन भएको बताउँदै उहाँले मन्त्रीले राजनीनामा दिन ढिला भएको तर्क गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेपालको राजनीतिमा नैतिकताको खडेरी भएको दाबी गर्नुभयो । समितिले मन्त्रीलाई दोषी देखाइसकेपछि कुनैपनि हालतमा राजीनामा दिनुको विकल्प नभएको सिंहको भनाइ छ ।
सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका विषयमा सरकार गम्भीर बनेको बताउनुभयो । शुरुमा सरकारले नै अपनत्व लिएर घटनालाई छानबिनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ थियो । समितिको प्रतिवेदन हेरेर बाँकी निर्णय लिइने उहाँले आश्वासन दिनुभयो ।
मन्त्री ज्वालाले बालकुमारीको बाटो प्रयोग गर्दा संयम अपनाउन जरुरी थियो । यतिका धेरै आरोप लागिसक्दा पनि राजीनामा दिने आँट गर्न सक्नुपथ्र्यो, तर मन्त्रीको कुर्सीमा चुम्बक टाँसिएझै जब्बर भएर बसेका उनलाई नैतिकताको पाठ त के पढाउनु ? हेरौँ विकेक पलाउँछ की ?