काठमाडौं । दुई दिन पहिले पाल्पाको तिनाउमा जीप दुर्घटना हुँदा दश जनाको ज्यान गयो, १६ जना घाइते भए । त्यो दुर्घटना बिर्सिन नपाउँदै आज बिहान महेन्द्रनगरबाट काठमाडौंका लागि आएको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटनाग्रस्त बन्यो । जसमा सवार १० जनाको घटनास्थलमै मृत्यु भयो भने ३० जना घाइते भएका छन् । उनीहरूको कपिलवस्तुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालमा सडक दुर्घटनाको दर हेर्दा २३ प्रतिशत बढेको पाइन्छ । आज बिहानको दुर्घटना पनि तीव्र गति र गियरले काम नगर्दा भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलको अनुमान छ ।
नेपाल कठिन भौगोलिक अवस्था कायम भएको देश हो । देशका अधिकांश राजमार्ग तथा सडक खण्डहरू पहाडी इलाकामा छन् । त्यसैले, स्वाभाविक रूपमा धेरैजसो दुर्घटना पनि यही क्षेत्रमा हुने गरेको पाइन्छ । सडक दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायले पहल गर्दै आएका छन् । तर पनि दुर्घटना रोक्ने प्रयास सफल हुन सकिरहेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भने सरकारको निरीहताका कारण दुर्घटनाको जोखिम बढेको दाबी गर्नुहुन्छ ।
नेपालमा दैनिक पाँचदेखि सातजनाको सवारी दुर्घटनाका कारण अकालमा ज्यान जाने गरेको तथ्याङ्क छ । वार्षिक यो संख्या करिब २ हजार पुग्छ । नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लका अनुसार ट्राफिक व्यवस्थापन र सडक निर्माणको दुराअवस्थाले दुर्घटना बढाइरहेको छ ।
सवारी दुर्घटना हुने सबैभन्दा ठूलो कारण चालकको लापरबाही तथा कमजोरी देखिन्छ । सवारी हाँक्दै गर्दा मोबाइल चलाउने, आफ्ना नजिकै यात्रु राखेर गफिने, मदिरा सेवन गरेर चलाउने, ठाउँ नभई ओभरटेक गर्नेलगायत चालकका लापरबाही हुन् । यातायात विज्ञ देवेन्द्र प्रधानले राज्यले यातायात क्षेत्रमा हेर्ने शैली पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।
सडक तथा सवारीको क्षमताभन्दा बढी गतिमा सवारी चलाउनु पनि दुर्घटना हुनुको कारण हो । सवारी सञ्चालनका लागि पर्याप्त र भरपर्दा भौतिक पूर्वाधार नहुँदा पनि दुर्घटना बढिरहेको छ । नेपालका विभिन्न दुर्गम गाउँ र कुनाकाप्चासम्म सडक सञ्जाल पुगेपनि अधिकांश मापदण्डविपरीत छन् । साँघुरा र कठिन सडकमा सवारी चलाउनुपर्ने बाध्यता छ । कच्ची र धुले सडकमा सवारी चलाउनु पनि निकै जोखिमपूर्ण बनेको छ ।