काठमाडौं। ललिता निवास जग्गा जग्गा प्रकरणमा विषेश अदालतले आज फैसला सार्वजनिक गर्ने भएको छ। अदालतले गत माघ २ गतेबाट सुरु गरेको एक महिना लामो बहस हिजो सकिएपछी आज फैसला सार्वजनिक गर्न लागेको हो।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा दायर गरेको मुद्दामा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ।
अभियोगमा सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिएको दाबी गरिएको छ।
सरकारले अधिग्रहण गरेको जग्गा समेत जफत भएको भन्ने अर्थ लगाई शुवर्ण शम्शेरका सन्तानले २०४९ मा फिर्ता लिएको र भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको अभियोगमा नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ।
काठमाडौं जिल्ला अदालतमा उक्त जग्गा व्यक्तिको नाममा सार्नका लागि संगठित रूपमा किर्ते गरिएको मुद्दा समेत विचाराधीन छ।