काठमाडौं । आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोलीले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालले समूहको दोस्रो खेल पाकिस्तानसँग खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो १ः ४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा न्यूजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो। त्यसैगरी पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो। एसीसी यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको थियो।
नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।