काठमाडौं । 'बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागी भन्दा स्वास्थ्यका लागि खाऔँ’ भन्ने मुल नाराका साथ काठमाडौको कपनमा चलिरहेको मेलामा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ ।
मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको एक हप्ते मेलामा मौलिक परिकार र उत्पादनहरु पाईने भएकाले उपभोक्ताहरुको भिडभाड बढ्दै गएको हो ।
यही माघ १ गतेदेखि सुरु भएको मौलिक उत्पादन र चौरासी व्यञ्जन मेलामा आउनेलाई केही परिकार निःशुल्क चाख्न पनि दिइएको र केही कोशेली पनि दिने गरिएको मौलिक बजार तथा मौलिक भान्छाघरका अध्यक्ष सुमन दाहालले जानकारी दिनुभयो ।
मेलामा ७ प्रदेश–७ परिकार, ७ पन्छी – ७ स्वाद, ७ संस्कृति–७ पहिरन, सातै दिन सांस्कृतिक साँझको व्यवस्था गरिएकाले सबै प्रदेशको झल्को र अपनत्व हुने भएकाले पनि सहभागीहरु खुशी भएको उहाँको भनाई छ ।
काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा सञ्चालित मेलामा एक स्थानीय तह, एक उत्पादनलाई बजारीकरण गर्ने गरी सबै पालिकाहरुलाई स्टलको पनि व्यवस्था गरिएको छ ।
यहाँबाट ब्रान्डिङ गर्ने र ७५३ वटै स्थानीय तहहरुमा मौलिक उत्पादन तथा मौलिक परिकारहरुको खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
मेलाको पहिलो दिन कृषी मन्त्री डा. बेदुराम भूसालसहित सरोकारवालाहरुका बीचमा मौलिक परिकार र उत्पादनलाई कसरी व्यवसायीक बनाउने भन्ने बारेमा वृहत अन्तरक्रिया कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो दिन हिजो पर्यटन मन्त्री सुदन किराँती सहित लोकदोहोरि गित प्रतिष्ठानका अध्यक्ष रिता थापा, पुर्व अध्यक्ष दुर्गा रायमाझी, चर्चित कलाकार कृष्ण कँडेलसहितको मौलिक सांस्कृतिक कार्यक्रम भएको थियो ।
आगामी ७ गतेसम्म नै चर्चित कलाकारहरुसँगै मौलिक परिकार निःशुल्क चाख्न र मौलिक उत्पादन उपहार तथा किनबेच गर्न पाइने भएकाले दैनिक हजारौको सहभागीता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मेलामै भेटिनु भएका पढ्दै कमाउदै अभियानका प्रणेता तथा जनज्योती मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले पनि गाउँ गाउँमा रोजगारी सृजना गर्न, ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउन र स्वस्थ हुन मौलिक उत्पादन र मौलिक परिकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
रैथाने भोजन, बीउ, वाली, सिप र संस्कृतिले प्रकृतिलाई जोगाउने र हाम्रो स्वास्थ्य बचाउने भएकाले पनि मौलिक उत्पादन र परिकारलाई बानी र संस्कारको रुपमा फेरि लागु गर्न ग्याष्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालका अध्यक्ष रमेश भण्डारीले आह्वान गर्नुभयो ।
मेलामा सहभागी सबैले यस्तो मौलिक उत्पादन र परिकार मेला देशैभरी चलाउनुपर्नेमा जोड दिने गरेका छन् ।