काठमाडौं। शुक्रबार राति बाँकेबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्यो, जसमा १२ जनाले ज्यान गुमाए भने २४ जना घाइते भएका छन्। त्यो दुर्घटनाको प्रकृति हेर्दा चालकको असंवेदनशीलता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भयो। यस्तै,झापामा मोटरसाइकल दुर्घटनामा शनिबार दुई जनाको ज्यान गएको छ। पर्सा, रौतहट, बर्दियामा पनि सवारी दुर्घटनामा एक एक जनाको मृत्यु भएको छ।
यसरी दुई दिनमा देशभर २४ जनाले ज्यान गुमाउनुले देशको सडक एकदमै जोखिमपूर्ण अवस्थामा रहेको देखाउँछ। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार सडकको दुराअवस्थाका कारण अधिकांश दुर्घटना भइरहेका छन्।
यो वर्षको मंसिरसम्म मात्रै देशभर सानाठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीको भनाइ छ। जसमा ९ सय १६ जनाले ज्यान गुमाएका छन् भने २ हजार ७ सय ९१ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको दरलाई हेर्दा राज्यका हरेक निकायको कमजोरी देखिएको छ।
नेपाल प्रहरीका पूर्व डिआईजी एवं ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीका अनुसार नक्कली सवारी चालक अनुमतिपत्रको बिक्री वितरण भयावह बन्दै गएका कारण दुर्घटनाको जोखिम बढिरहेको छ। धेरैजसो घटना चालकनिर्भर हुने भएकोले लाइसेन्स वितरणमा घुसपैठ बन्द हुन जरुरी रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को १२ महिनाको अवधिमा मात्रै ३५ हजार ७५४ वटा सवारी दुर्घटना भएका छन्।जसमा परी २ हजार ३२० जनाको मृत्यु भएको छ। यातायात विज्ञ देवेन्द्र प्रधानले सडकमा भएका खाल्डाखुल्डीको मर्मत नहुनु, यातायात व्यवस्था कार्यालय,सडक विभाग, प्रहरी र स्वयं सवारी धनीको लोभकाकारण दुर्घटना भइरहेको बताउनुभयो।
धेरैजना यात्रु बोकेर हिंड्ने हेबी सवारी साधनको चालक दक्ष र अनुभवी हुनुपर्ने मान्यता विपरीत अनौपचारिक रुपमा लाइसेन्स प्राप्त गरी सवारी चलाउने प्रवृत्तिले समेत दुर्घटना निम्त्याउने गरेको छ। विज्ञहरुका अनुसार ठूला राजमार्गमा हुने दुर्घटनापछि प्रहरीले दिने प्रतिवेदनलाई गम्भीरताका साथ लिएर सुधारमा नलाग्ने राज्य संयन्त्र नै मानवीय क्षतिमा ठूलो जिम्मेवार हो।