काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीको नाममा नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर प्रयोग गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर समेत दुरुपयोग गरी कुराकानी गरिरहेको पाइएकोले सचेत रहन आग्रह गरेको छ।
गभर्नर अधिकारीको नाम र तस्वीरसमेत दुरुपयोग गर्दै राष्ट्र बैंककै कर्मचारीसँग संवाद गरेको पाइएको भन्दे राष्ट्र बैंकले सचेत रहन आग्रह गरेको छ।राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराज पोख्रेलले केही कर्मचारीहरुसँग कुराकानी गरेपछि शंका लागेर तुरुन्तै प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी दिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,‘राष्ट्र बैंकमा कार्यरत कर्मचारीसँग नै गभर्नर बनेर सम्वाद भएको पाइयो। जे जसरी कुराकानी भएको भएपनि यो विषय गम्भीर भएकोले साइबर ब्यूरोमा पनि जानकारी गराएर सबैलाई सजक रहन सूचना प्रकाशित गरेका हौं, कर्मचारीसँग सम्वाद गर्नेले गभर्नर बनेर सबैसँग संवाद गरेको हुनसक्छ। त्यसैले सबैलाई सजग गराएका हौं।’