काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताउनुभएको छ ।
उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने उहाँको जिकिर छ । अर्थमन्त्री महतले साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन ? भन्ने कुराको निक्र्यौल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने बताउनुभयो । उहाँले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताउनुभयो ।
अर्थमन्त्री महतले सरकारले अप्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने बताउनुभयो ।