काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल अहिले नक्कली जोगीहरुको फन्दामा परेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका लोहनीले देशलाई भ्रष्टाचार र बेथितीमा डुबाउने नक्कली जोगीहरुरुलाई नियन्त्रण गर्नको लागि अब आन्दोलनको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
देशको प्रखुम दलका शीर्षस्थ नेताले नै देशलाई डुबाएको र जनताको शोषण गरिरहेको आरोप लगाउँदै नेता लोहनीले जनतालाई शुसुचित गराउने, भ्रष्टाचारीको विरुद्ध आन्दोलन गर्ने र नेपालको संविधानमा केहि संशोेधन गर्ने मागसहित आफूहरु सडकमा उत्रिने चेतावनी दिनुभयो ।
देशको बिग्रँदो अर्थतन्त्र, बेरोजगारी, आर्थिक मन्दी, युवा शक्तिको विदेश पलायन, भष्ट्राचारलगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको नेता लोहनीले बताउनुभयो ।
राप्रपाले आगामी फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । भर्खरै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले देशरभर आन्दोलन गर्ने घोषणा गरेको नेता लोहनीले बताउनुभयो । आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ ।