Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामपुरका मेयर भन्छन्, ‘भालुबाङ जान्नौँ, गण्डकीमा मिल्न चाहन्छौँ’

रामपुरका मेयर भन्छन्, ‘भालुबाङ जान्नौँ, गण्डकीमा मिल्न चाहन्छौँ’

  • बुधवार, आश्विन २८ २०७७

  • 5.8K
    SHARES

  • रामपुरका मेयर भन्छन्, ‘भालुबाङ जान्नौँ, गण्डकीमा मिल्न चाहन्छौँ’

    काठमाडौँ – पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले पूर्वी पाल्पाको भूगोललाई लुम्बिनी प्रदेशबाट हटाएर गण्डकी प्रदेशमा मिलाउनुपर्ने माग गरेका छन्।

    उनले राजधानीका लागि भूगोलका हिसाबले भालुबाङसम्मको दूरी पूर्वी पाल्पाको विकासका लागि बाधक बन्ने दाबी गरे।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा कुरा गर्दै मेयर थापाले पूर्वी पाल्पासहित गण्डकी प्रदेशसँग जोडिएको कालीगण्डकी उपत्यकालाई गण्डकी प्रदेशमा नै मिलाइनुपर्ने बताए।

    उनले भने, ‘हरेक व्यक्तिले छिमेकीसँग मिल्न चाहन्छ, छिमेकीसँगको चालचलन र रहनसहन अपनाउन चाहन्छ, पूर्वी पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकासहितको कालीगण्डकी उपत्यकालाई एउटै प्रदेश (गण्डकी) मा मिलाइनुपर्छ ।’

    उनले हिजो बुटवलमा अस्थायी मुकाम तोकिँदा पनि पूर्वी पाल्पाले गण्डकी प्रदेशमै मिल्न चाहेको र त्यसका लागि दबाब पनि सृजना गरेको स्मरण गरे।

    ‘यो माग हिजो पनि नउठेको होइन, उठेको हो तर सफल भएन अहिले त झन भालुबाङ राजधानीको कुराले हामीलाई झनै टाढा बनाएको छ, हाम्रा लागि अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ’, उनले भने ।

    मेयर थापाले अघि भने, ‘हुन त हिजो रकुम रोल्पाका साथीहरुलाई पनि बुटवल आउन अप्ठ्यारो थियो होला तर जो पनि मानिसहरुले छिमेकीसँग जोडिएर बस्न चाहेको हुन्छ । हिजो रुकुम रोल्पाको जस्तै आज रामपुर र निस्दी गाउँपालिकाका भागहरु दूरदराजमा परेका छन्, यो पूर्वी पाल्पाको विकासका लागि बाधक हो।’

    मेयर थापाले रामपुर र निस्दीसहितका क्षेत्रहरु समेटिएको कालीगण्डकी उपत्यकालाई एउटै उपमहानगर बनाएर बृहत योजनासहित विकास गर्न सकिने बताए।

    ‘हामीसँग जोडिएको कालीगण्डकी उपत्यका । बीचमा कालीगण्डकी नदी छ । त्यसको पारीपट्टी गण्डकी प्रदेशको चापाकोट नगरपालिका र घिरिङ गाउँपालिका र यता नवलपुरसँग जोडिएको रामपुर गाउँपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ’, उनले भने, ‘पोखरापछिकै ठूलो उपत्यका रहेको यो क्षेत्रलाई टुक्राउनु हुँदैन, हामी जोडिन चाहन्छौँ।’

    कालीगण्डकी उपत्यका बृहत योजना अन्तगर्तको उपमहानगर बन्न सक्ने भूगाल र श्रोत साधनयुक्त भएकोले कालीगण्डकी बेसी एउटै प्रदेश हुनुपर्ने उनले बताए।

    ‘यो मेरो व्यक्तिगत चाहना मात्रै होइन, सिंगो रामपुरका बासिन्दाको माग पनि हो’, थापाले भने, ‘भालुबाङ र रामपुर नगरपालिका धेरै टाढा परेको छ । भालुबाङ राजधानी भयो भने रामपुर क्षेत्रको विकास पूरै ओझेलमा पर्छ, हामीलाई पोखरा राजधानी भयो भने धेरै सजिलो हुन्छ।’

    उनले पूर्वा पाल्पालाई गण्डकी प्रदेशमा मिसाउनका लागि आफूहरुले छलफल तीव्र पारेको पनि जानकारी दिए।

    ‘हामी सबैसँग समन्वय गरिरहेका छौँ, अब छिट्टै हस्ताक्षर अभियान चलाएर दबाब सिर्जना गर्छाैँ’, उनले भने ।

    पूरा कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुस् ।


    बुधवार, आश्विन २८ २०७७०५:१५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij