काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । कुल ४० खेल हुने एनएसएलको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामको सामना गर्नेछ ।
काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत् छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् । इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।
काठमाडौंको टिममा यसपटक धेरै फेरबदल भएको छ । पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अञ्जन राई मात्र टिममा छन् । उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष् गुरुङ र आशिष् राई छन् ।
काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरूको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरू छन् । गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन्।
साबिक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने लक्ष्य रहेको बताए । त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ ।
उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साबिक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् ।
काठमाडौं र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोह हुनेछ । जहाँ विभिन्न सांगीतिक प्रस्तुति हुनेछन् ।