काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा हुने पहिलो खेलमा समूह ‘ए ‘का बागमती प्रदेश र कर्णाली प्रदेश भिड्नेछन् । सो खेल बिहान ९ बजे सुरु हुनेछ ।
आज हुने खेलमा बागमती लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । बागमतीले पहिलो खेलमा आयोजकको रातो टोलीलाई १०९ रनको फराकिलो अन्तरले हराएको थियो ।
आजै हुने दोस्रो खेलमा समूह ‘बी‘ को एपीएफ र गण्डकी प्रदेश खेल्दैछन् । सो खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ र गण्डकी पहिलो जितको खोजीमा हुनेछन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा तिन विभागसहित ७ प्रदेश र आयोजकको दुई टोली गरी १२ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहेका टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।