काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्नुहुने भएको छ ।
व्यवस्था परिवर्तन गर्न भन्दै हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गर्नुभएका व्यवसायी प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको हो । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गर्नुभएका प्रसाईंले हिजो अबेर आयोजित पत्रकार सम्मेलनमा आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताउनुभएको थियो ।
आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने उहाँको घोषणा थियो । ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन,’ उहाँले भन्नुभएको थियो, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह शुरू हुन्छ ।’
हिजो तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाव उत्पन्न भएको थियो ।
बल्खुमा राखिएको कार्यक्रममा युवा संघका कार्यकर्ता पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीसँग पनि झडप भएको थियो । जसमा पाँच प्रहरी र २३ प्रदर्शनकारी घाइते भएका थिए ।