Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दसैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

दसैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

  • सोमवार, आश्विन २६ २०७७

  • 3.1K
    SHARES

  • दसैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँमा यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि थप ७ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतै यात्रा गर्ने योजनामा भए अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय सरकारले गरेको बताउनुभयो।

    ७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने मात्रै यात्रा गर्नुपर्ने र गतन्व स्थानमा पुगेपछि पुनः ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको उहाँले बताउनुभयो।

    प्रवक्ता गौतमले यस वर्ष महामारीको समय भएकोले जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गर्नुभयो।

    साथै चाडपर्वका लागि व्यापार, व्यवसाय तथा यात्राका लागि भीड र संक्रमण फैलाउने कामहरु नगर्न नगराउन उहाँले आग्रह गर्नुभयो ।

    सरकारले चाडपर्वका बेला मानिसहरुले कम भन्दा कम यात्रा गरुन् भन्ने मनसायका साथ १४ दिन अनिवार्य क्वारिन्टन बस्नुपर्ने नियम लगाएको बुझिएको छ।

    यदि सरकारका पछिल्ला आदेशहरु नागरिक स्तरबाट पालना नभए फेरि पनि लकडाउनको निर्णय गर्न बाध्य हुने चेतावनी पनि सरकारले दिएको छ।

    सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लकडाउन गर्नेबारे सरकारले कुनै योजना नबनाएको तर नागरिकहरुले आफै सचेत भएर जनस्वास्थ्य मापदण्ड पालना नगरे फेरि पनि कडा कमद चाल्नुपर्ने स्थिति आउन सक्ने बताउनुभयो।

    तर दसैँ जस्तो पर्व जो जहाँ छन् त्यही रहेर मनाउन सरकारले गरेका आग्रहको स्पष्ट पालना हुन नसक्ने जनस्वास्थ्यविदहरु बताउँछन्।

    महान पर्व मनाउन गाउँ जानेहरुको क्रम सानो नहुने भएकोले बरु जनस्वास्थ्य मापदण्डको पालनामा ध्यान दिनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले बताउनुभयो।

    कोरोनाको अति जोखिम रहेको काठमाडौँबाट गाउँ जान चाहनेहरुलाई रोक्न नहुने धारणा पनि कतिपय विज्ञहरुको छ।

    तर दसैँ मनाएर तुरुन्तै फर्किनुपर्नेहरुलाई भने यात्रा नगर्न डा. रवीन्द्र पाण्डेले सुझाव दिनुभयो। उहाँले केही समय गाउँमै बस्ने हो भने मात्रै काठमाडौँ छाड्न सुझाव दिनुभयो।

    कोरोना संक्रमण दिनप्रतिदिन आक्रामक रुपमा बढिरहेको छ । यो महामारी रोकथामका लागि सरकारका प्रयासहरु घोषणामा मात्रै सीमित भएको जस्तो देखिन्छ।

    त्यसैले दसैँ मनाउन गाउँ जानेहरुलाई अनिवार्य क्वारिन्टनको घोषणा मात्रै गर्नुभन्दा यसको पालनामा जोड दिन अति आवश्यक छ।

     


    सोमवार, आश्विन २६ २०७७०७:१९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij