काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिकटक प्रतिबन्धमार्फत सरकारले नागरिक स्वतन्त्रतामा कटौती गरेको आरोप लगाउनुभएको छ । उहाँले राज्यले हचुवा र हुकुमी शैलीमा काम गर्न नमिल्ने जिकिर गर्नुभयो । टिकटकको मात्र दुरुपयोग नभई अरू सामाजिक सञ्जालबाट पनि भइरहेकोले यसलाई नियमन गर्नुपर्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नुभयो, ‘सरकारले संविधान र कानुनलाई नाघेर गम्भीर बेथिति गर्दा म मूकदर्शक भएर हेर्न सक्दिनँ । त्यसमा प्रभावकारी हस्तक्षेप गर्नु मेरो कर्तव्य हो । मैले कानुनी चुनौती दिने ठाउँ अदालत हो । मैले विगतमा पनि सफलता पाउँदै आएको छु । मेरो चिन्ता र चासो टिकटक मात्र भन्दा पनि संविधानको १७ (२) ले ग्यारेन्टी गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको माध्यममाथि नै खतरा आउने देखेर हो ।’
टिकटक प्रतिबन्धमा सरकारको कुनियत लुकेको पनि त्रिपाठीले बताउनुभयो । सरकारमा बसेका मान्छेहरू आफ्ना ठूलठूला काण्ड बाहिरिन थालेपछि आतंकित भएको त्रिपाठीको दाबी छ । उहाँले सामाजिक सद्भाव खलबलाएको भन्ने कुरा त जनताको आँखामा छारो हालेको मात्र भएको टिप्पणी गर्नुभयो ।
सोसल मिडिया सार्वजनिक निगरानीको माध्यम भएको बताउँदै उहाँले साना बिजनेस, स्वास्थ्य चेतना फैलाउने अनि कला साहित्य र प्रतिभा देखाउने प्लेटफर्मको सुरक्षा गर्नुपर्दैन?भन्दै प्रश्न गर्नुभएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको सरकारले संस्थागत रुपमा प्रतिगमनको प्रक्रिया अघि बढाएकोसमेत आरोप लगाउनुभएको छ ।