काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकताबद्ध भएर परास्त गरिने बताउनुभएको छ । शुक्रवार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
‘नेपाली जनताले निकै ठुलो सङ्घर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएका छन्। केही सामन्ती तत्त्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ। देशको सुरक्षा अवस्था सामान्य छ। १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकै ठाउँ छौँ। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौँ।’
उहाँले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरेको बताउनुभयो । ‘हाम्रो पार्टी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौँ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदै छ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऊँ।’
प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिन अर्थतन्त्रमा समेत सुधार आएको बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।’