काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ।
बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियो लिमाले एक-एक गोल गरे।
१५ हजार दर्शक क्षमता रहेको दुबईको अल मक्तुम स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो।
यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।
त्यस्तै, खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टीमा युएइका लागि दोस्रो गोल गरेका थिए। त्यसैगरी खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि तेस्रो गोल गरे।
पेनाल्टी बक्सभित्र दुई जनाले हेड मार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्यापेको बलले जाली चुमेको थियो।