काठमाडौं । आस्थाको महापर्व छठ आजदेखि विधिवत् रुपमा सुरु भएको छ । छठपर्व गर्ने व्रतालुले आज पहिलो दिन माछ मरुवा बार्ने अर्थात् माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाई चोखो खाने गर्छन् ।
उनीहरू खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ । जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ ।
छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधि गर्छन् । तेस्रो दिन शनिबार खरना मनाइन्छ । यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरूप घरपरिवारले ग्रहण गरिन्छ ।
यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ । यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिई अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ ।
पर्वको अन्तिम अर्थात् पाँचौ दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत् रुपमा समापन गरिन्छ ।
यसैबीच, छठपर्व नजिक आएसँगै स्थानीय बजारहरूमा पूजा सामग्री खरिद बिक्री गर्नेहरूको घुइँचो लागेको छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटबजारमा चहलपहल बढेको छ । छठ पूजामा अनिवार्य रहेको हरियो सागसब्जी (तरकारी), फलफूल किन्नेहरूको भिडभाड देखिन्छ ।
पूजा गर्नका लागि अहिले घाट बनाउन यहाँका युवाहरू व्यस्त देखिन्छन् । पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाइ गरी सामूहिक रुपमा घाट बनाउन लागिपर्छन् ।
चन्दा उठाएर भए पनि घाट सजाउन लाखौँ रकम खर्चिएको हुन्छ । घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि अहिले धमाधम काम भइरहेको छ ।