काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो ।
जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । त्यस्तै कप्तान केन विलियम्सन ६९, ग्लेन फिलिप्सले ४१ रन रन बनाए ।
बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।
यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।
भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहलीले १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाए यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले ३९ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।
दोस्रो सेमिफाइनल बिहीबार आज हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।