काठमाडौं । नेपालस्थित उत्तर कोरियाली दूतावास बन्द हुने भएको छ। उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो। नेपालमा दूतावास खोलेको ४९ वर्षपछि आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको उत्तर कोरियाले बताएको छ।
नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दुतावास बन्द गर्न लागिएको जानकारी दिएका छन्। नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिएका थिए ।
सोमबार परराष्ट्र सचिव भरतराज पौड्यालसँगको भेटमा पनि दूतावास बन्द गर्न लागिएको जानकारी उनले पुनः दोहो¥याएका थिए। दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।
नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो । सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो ।