काठमाडौँ। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आजदेखी सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा जारी गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेकोमा १४ लाख २४ हजार ५९० कित्ता मात्र बाँडफाँट गरिएको छ। स्थानीयमा विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो।
आयोजना प्रभावित स्थानीयमा कम्पनीले कात्तिक १ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असोज १५ गते आईपीओ बाँडफाँट गरिएको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ९१ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिएको हो। अब दोस्रो चरणमा ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आईपीओ विक्री अवधि छिटोमा कात्तिक २० गतेसम्मका लागि तोकिएको छ। छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर १ गतेसम्म विक्री लम्बिनेछ। कम्पनीको आईपीआ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।
