काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले डा गोविन्द केसीले संसदलाई चुनौती दिएको टिप्पणी गर्नुभएको छ ।
ऐन कानुन परिवर्तन गराउने कुनै एउटा व्यक्तिले नभई सार्वभौम संसदले भएकाले उहाँले दवाव दिदैमा नहुने पनि तर्क गर्नुभयो ।
डा केसीले कानुन नै परिवर्तन गर्न माग गर्दै अनशन बस्नु ठिक नभएको दावी गर्दै उहाँले डा केसीको अवरणमा अरुले राजनीति गरिरहेको आरोप पनि लगाउनुभयो ।
विषेश गरेर चिकित्सक संघले उहाँलाई अगाडि सारेर राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार गरिरहेको उहाँको भनाई थियो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले डा केसीसँग गएराती भएको सहमती कार्यान्वयन आफ्नै तरिकाले हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “डा केसीले भन्दैमा छिटो छिटो हुने भन्ने हैन, त्यसको आफ्नै प्रक्रिया हुन्छ, यस्ता कुरामा डा केसी अनशन बस्नु पर्ने थिएन । उहाँले आवश्यक दुःख पाउनुभएको छ ।”
यसअघि शुक्रबार वार्ता शुुरु भएर पनि भाँडिएको दिन आफु रातीसम्म प्रधानमन्त्री केपी ओलीसँगै रहेको र सल्लाह दिएको उहाँले बताउनुभयो ।
डा केसीले माग गरिरहेका विषयलाई सरकारले कार्यान्वयन गरिरहेकै बेला उहाँले फेरी अनसन बस्नु भएको नेता अधिकारीको भनाई छ ।